भोटेकोशी बाढी : हिमालको चेतावनी, जलवायु परिवर्तन र नेपालको प्रश्न
भोटेकोशीको पानी घटेपछि नदी किनारमा बाँकी रहेको दृश्य हेर्दा एउटा प्रश्न मनमा आउँछ – यो केवल बाढी थियो, कि हामीले लामो समयदेखि नसुनेको हिमालको चेतावनी पनि थियो? २०२६ अगस्ट २६ मा ल्हेन्दे खोला–भोटेकोशी हुँदै त्रिशूलीमा आएको विनाशकारी बाढीको प्रारम्भिक वैज्ञानिक पुनर्निर्माणले उच्च हिमाली क्षेत्रमा बरफ र चट्टानसँग सम्बन्धित ठूलो ढलान–विफलता (चयअप(ष्अभ बखबबिलअजभ) बाट बहाव सुरु भएको देखाउँछ । पछिल्लो उपग्रह–आधारित अध्ययनले करिब ३७.४ वर्ग किलोमिटर क्षेत्र प्रभावित भएको र करिब १५.७ किलोमिटर सडक पूर्ण रूपमा क्षतिग्रस्त भएको प्रारम्भिक नक्साङ्कन गरेको छ । तर अनुसन्धानकर्ताहरूले यसको ठ्याक्कै आरम्भिक कारण अझै पूर्ण रूपमा निश्चित भइसकेको छैन भनेर स्पष्ट गरेका छन् ।
यसलाई सीधै “जलवायु परिवर्तनले बाढी गरायो” भन्नु वैज्ञानिक रूपमा पर्याप्त हुँदैन । तर तस्वीरको अर्को पाटो अझ गम्भीर छ । उच्च हिमाली क्षेत्रमा तापक्रम बढ्दा हिमनदी, बरफ र जमेको जमिनको स्थिरता कमजोर हुन सक्छ । वैज्ञानिकहरूले यस घटनामा असामान्य उच्च तापक्रम र हिमाली भू–भागको अस्थिरतालाई जोखिम बढाउने सम्भावित कारक मानेका छन् । हिन्दुकुश–हिमालय क्षेत्रमा २०११–२०२० को अवधिमा हिमक्षय अघिल्लो दशकको तुलनामा ६५ प्रतिशत तीव्र भएको अध्ययनहरू उद्धृत भएका छन्।
तर बाढीको वैज्ञानिक कथा यतिमै सकिँदैन । विपद् प्राकृतिक हुन सक्छ, तर विपद्को क्षति सामाजिक रूपमा निर्माण हुन्छ । नदीको स्वाभाविक बहाव क्षेत्रमै सडक, बस्ती, पुल र जलविद्युत् संरचना विस्तार हुँदै जाँदा जोखिम बढ्छ । भोटेकोशी–त्रिशूली घटनामा ११ जलविद्युत् आयोजना र एउटा सौर्य आयोजना प्रभावित भएको रिपोर्ट छ ।
यसको मानवीय कथा झन् गहिरो छ । १४ वर्षीय आकाश तामाङले आफू बचे पनि भाइबहिनी हराएको बताएका छन्; ग्ल्क्ष्ऋभ्ँ का अनुसार भोटेकोशी–त्रिशूली क्षेत्रमा १७,००० बालबालिका प्रत्यक्ष प्रभावित भएका थिए । यो तथ्यांकभन्दा ठूलो कुरा एउटा परिवारको खाली आँगन हो–जहाँ साँझ परेपछि पनि हराएको सदस्य फर्किन्छ कि भनेर ढोका हेर्ने आँखा हुन्छ ।
तामाङलगायत हिमाली आदिवासी समुदायका लागि नदी, जंगल, पहाड र भूमी केवल प्राकृतिक स्रोत होइनन्; ती जीवन, संस्कृति र विश्वासका आधार हुन् । पुस्तौँदेखि स्थानीय समुदायले पहाडको चाल, नदीको आवाज, मौसमको फेरबदल र भू–भागको व्यवहारलाई आफ्नै अनुभवबाट पढ्दै आएका छन् । यस्तो स्थानीय÷आदिवासी ज्ञानलाई आधुनिक वैज्ञानिक जोखिम–नक्सासँग जोड्नु अब विकल्प होइन, आवश्यकता हो ।
नेपालको विश्वव्यापी हरितगृह ग्यास उत्सर्जनमा योगदान अत्यन्त न्यून छ—करिब ०.१ प्रतिशत—तर जलवायु जोखिमको भार असमान रूपमा नेपालले बेहोर्दैछ । त्यसैले नेपालको भूमिका केवल पीडित राष्ट्रको रूपमा राहत माग्नु होइन; जलवायु न्याय, हिमाली अनुसन्धान, प्रारम्भिक चेतावनी प्रणाली, सीमापार सूचना आदानप्रदान र जोखिमयुक्त विकासको पुनर्मूल्याङ्कनमा नेतृत्व गर्नु पनि हो ।
भोटेकोशीले हामीलाई एउटा सरल पाठ दिएको छ–प्रकृतिलाई जित्ने विकास होइन, प्रकृतिसँग बाँच्न सक्ने विकास चाहिन्छ । पुनर्निर्माण गर्दा स्थानीय सरकार, प्रदेश, संघ र आदिवासी समुदायको ज्ञान एउटै टेबलमा बस्नुपर्छ । नदीलाई सम्मान गर्ने विकास मात्र भविष्यमा सुरक्षित विकास बन्न सक्छ ।






Comments
Post a Comment